धरान : आज बुधवार बिहान परेको भारी वर्षाका विच ओखलढुङ्गाको चिसखुगढीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-५ थुम्कीमा पहिरोले घर पुरिँदा ३५ बर्षीया श्रीमती देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी अनुसार बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ समेत पहिरो गएर पुरिएको छ । घर भित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, ३५ बर्षीया श्रीमती देवकुमारी खत्री र १८ बर्षीया छोरी मेनुका खत्री घरसङ्गै पहिरोमा पुरिएका थिए ।
तत्काल शेर्ना प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिएको छ । श्रीमती देवकुमारी भने पहिरोले पुरी मृत्यु भएको अवस्थामा भेटिएको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक सहितको थप टोली खटी उद्धार कार्य भइरहेको जनाइएको छ ।