झापा : झापामा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका हुन् ।

बेपता हुनेमा वडा नम्बर १ झोलुङ्गे टोलका वेद बिकका १३ वर्षीय छोरा मिलन बिक रहेको नेपाल रेडक्रस सोसाइटी गौरीगञ्ज उपशाखाका सभापति यादव रिजालले जानकारी दिए ।

बुधवार साँझ ६ बजेतिर साथीहरूसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको गौरीगञ्ज-१ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।

जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । हिजो अबेर रातिसम्म बेपत्ता बालकको खोजी गरेको र आजपनि बिहानैबाट खोजी कार्य जारी राखिएको छ ।