धरान : तेस्रो राष्ट्रिय कुराँस प्रतियोगिता २०८१ बिहीबार धरानमा सम्पन्न भएको छ । धरान-१६ स्थित रङ्गशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेशले ६ स्वर्ण पदकको उपाधि प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ ।

कोशी प्रदेशले ५ स्वर्ण पदक ल्याएर दोस्रो भएको छ भने गण्डकी प्रदेश ३ स्वर्ण पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । प्रथम भएको बागमती प्रदेशले ६ वटा स्वर्ण, १ वटा रजत र १ वटा कास्य पदक गरी जम्मा ८ वटा पदक जित्न सफल भएको छ ।

दोस्रो हुने कोशी प्रदेशले ५ वटा स्वर्ण, ८ रजत र २३ कास्य पदक प्राप्त गर्दै ३६ वटा पदक जित्न सफल भएको छ भने गण्डकी प्रदेशले ३ स्वर्ण, १० रजत, ५ कास्य गरी १८ पदक जित्न सफल भएको छ ।

मङ्गलवार देखि सुरु भएको प्रतियोगितामा बागमती, कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको थियो साथै प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) प्रतिस्पर्धीको रूपमा रहेको थियो।

समापन समारोहमा वैशाख ७ र ८ गते भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँस च्याम्पियनसिपमा नेपालको तर्फबाट २ स्वर्ण र ३ रजत पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी ४५ देखि ७३ केजी भारमा ३० जनाले प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ देखि ५० केजी सम्मका ४१ जनाको सहभागिता रहेको थियो ।

कुराँस खेल उज्बेकिस्तान देशको पारम्परिक मार्सल आर्टको शैली हो । यो खेल यही देशबाट सुरु भएको कुराँस सङ्घ केन्द्रीय अध्यक्ष जीवन राईले बताए । उनले कुराँस खेलको मान्यता १९८० देखि भएको बताए ।

यो खेलमा खेलाडीले आफ्नो प्रतिस्पर्धीलाई ग्राउण्डमा छिर्के लगाएर लडाउनु पर्ने हुन्छ । जसमा शरीरको तलको भाग कम्मर देखि तलको भाग समाउन मिल्दैन र किक पनि हान्न मिल्दैन । यो खेलको समय अवधि पुरुषको लागि ४ मिनेट र महिला खेलाडीको लागि ३ मिनेटको रहन्छ ।

Kurans-Game-finalसमापन समारोहका प्रमुख अतिथि एवं कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले कुराँस खेलको प्रबल सम्भावना रहेको बताए । उनले खेल जगतलाई व्यवस्थित गर्दै इमान्दार र अनुशासित खेलाडी उत्पादन गर्न कोशी प्रदेश सरकार लागि परेको बताए । उनले  खेलाडीहरूको कदर गर्दै विकासमा आव २०८०/०८१ मा बजेट विनियोजन गरेको बताए ।

विशेष अतिथि अईन्द्र विक्रम बेघाले नेपालमा खेलिने सम्पूर्ण खेलहरू धरानमा खेलिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।

उनले खेलाडीहरूको भावनालाई समेट्न उपमहानगरपालिकाले कुराँस खेललाई सम्बोधन गरेको बताए । उनले उपमहानगरपालिकाले कुराँसलाई यथेष्ट बजेट उपलब्ध गराउन नसकेपनि रातो किताबमा बजेट समेट्ने प्रयास भएको बताए ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेलकुदको पूर्ण व्यवसायीकरण गर्नुपर्ने बताए । उनले स्थानीय सरकारलाई इङ्गित गर्दै जिम्मेवार मान्छेले भिजनसँगै उपहारको व्यवस्थापन र पूर्वाधार व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा कुराँश सङ्घका केन्द्रीय अध्यक्ष जीवन राई, कोशी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक जय सापकोटा, विभिन्न राजनैतिक दलका प्रतिनिधि वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।