काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्रसिद्ध कवि बैरागी काइलाले पछिल्लो समय पहिचानको चेतनामा आधारित कविताका बारे समालोचकहरू उदासीन रहेको बताएका छन् ।

मण्डला थिएटरमा आयोजित कवि जुनू रानाको कविता सङ्ग्रह 'रातो नदी' विमोचन कार्यक्रममा शनिवार काइलाले भने, ‘पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा पुगेको छैन ।’ उनले पछिल्लो चेतना भनेर पहिचानलाई भनेका हुन् ।

मुन्धुमविद् काइँलाले भने, 'जुनूका कविताहरू नेपाली साहित्यमा दर्विलो कृतिको रूपमा आएको बताए । उनले भने, ‘मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन ।’

काइलाले कृतिमा सबै थोक भएको बताउँदै विषयवस्तुहरू ओजिला, संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग सटिक भएको उल्लेख गरे । उनले भने, ‘कविले फारो गरेर शब्द चलाएकी छन्, 'रातो नदी' साँच्चिकै अब्बल कृतिका रूपमा आएको छ ।’

प्राज्ञ कवि श्रवण मुकारुङले 'कमन' लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताए । उनले भने, ‘कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि जुनू रानाको कविता कृतिले नयाँ तरङ्ग ल्याएको छ ।’

कवि समालोचक डा. विन्दु शर्मा, सञ्चारीका समूहकी अध्यक्ष विमला तुम्खेवा, आख्यानकार विना थिङले सङ्ग्रहका कविताहरू माथि समीक्षात्मक मन्तव्य राखेका थिए । कवि रानाले आफ्नो कविता लेखनका बारेमा बताइन् । 'रातो नदी' रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।

डेढ दशकदेखि हङकङमा रहकी बागलुङकी कवि जुनू रानाको 'रातो नदी' पहिलो कविता सङ्ग्रह हो । कृति विमोचन कवि प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा प्राज्ञ कवि डा. विप्लव ढकाल, गीतकार सङ्घ, नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङ लगायतको उपस्थिति थियो ।  

कार्यक्रममा कविहरूले प्रकाशित सङ्ग्रहका कविता वाचन पनि गरेका थिए । सीता तुम्खेवा, गायक यशकुमार, कलाकार अङ्कित खड्काले 'रातो नदी',  'अनुपस्थिति' र 'जातको ब्रह्माण्ड' र तीनै जनाले संयुक्त रूपमा 'म एक बेरङ रङ' कविता सङ्गीतमा प्रस्तुत गरे ।

कवितामा सङ्गीत संयोजन गायिका झुमा लिम्बूले गरेकी थिइन् । प्रस्तुतिमा यजु आचार्य, आदि श्री ढुङ्गाना र अरुणा गन्धर्वले वाद्यव वादनमा थिए । सहजीकरण कलाकार यासेली योङहाङले गरेका थिए ।

Raato nadi Bimochan 2

Raato nadi Bimochan 3

Raato nadi Bimochan 4