इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले गृहमन्त्री रबि लामिछाने अपरिपक्व भएको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृहमन्त्री लामिछानेमाथि खासै टिप्पणी गर्न मन नलागेको बताए ।

उनले भने, 'गृहमन्त्री अपरिपक्व हुनुहुन्छ । अहिलेलाई यति भनेँ ।' सरकार फेरबदलको विषयमा उठेको प्रश्नमा निधिले प्रस्ट पार्दै भने, 'उथलपुथलको विशेषज्ञ प्रधानमन्त्री प्रचण्ड (पुष्पकलम दाहाल) हुन्, देउवा (शेरबहादुर देउवा) र ओली (केपी शर्मा ओली) होइनन् ।"

तत्काल सरकार परिवर्तन नहुने बताउँदै उनले काँग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताए । काँग्रेस अवसर आयो भने सरकारमा जाने बताएका निधिले संविधान संशोधन जरुरत रहेपनि २०८४ को निर्वाचन अगाडि सम्भावना नरहेको प्रस्ट पारे ।

पूर्व गृहमन्त्री समेत रहेका निधिले राज्यको पुनर्संरचनाको काम बाकी रहेको बताए । संविधान प्रदत्त अधिकार प्रदेशमा हस्तान्तरण नगरिएको गुनासो गर्दै उनले अहिले प्रदेशको सरकारको हैसियतमा सञ्चालन नभएको टिप्पणी गरे ।