धरान : मोरङको उर्लाबारी-६ स्थित उर्लाबारी-मधुमल्ला सडक खण्डमा सोमवार साँझ टिप्परले आमा छोरा रहेको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते आमाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मृत्यु भएकीमा उर्लाबारी-६ की २७ बर्षीया सीता बोहोरा छन् । स्कुटरमा रहेको उनकै ९ वर्षीय छोरा प्रशान्त बोहरा सहित घाइते भएका थिए ।

दुवै घाइतेलाई स्थानीय मङ्गलवारे अस्पतालमा उपचारका लागि लगिएकोमा आमा सीताको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा प्रशान्तलाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पुर्‍याइएको छ ।

सिता आमा छोरा चढेको प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई प्रदेश ०३-००१ क १०९० नम्बरको टिफरले ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरी रहेको छ ।