इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शशाङ्क कोइरालाले लोकतन्त्रको सुन्दरता भनेकै बलियो विपक्षी भएको बताएका छन् । दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने र एकतान्त्रीक शासन तर्फ मुलुक जान सक्ने डर भएको बताए ।

इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर कोइरालाले भने, 'सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने विपक्षी भएपछि लोकतन्त्र कसरी बलियो हुन्छ ? प्रतिपक्षीलाई बलियो बनाउन सक्नुपर्छ । विपक्षी बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ ।'

नेपालमा कम्युनिस्ट सँग मिल्नु हुँदैन भनेर आफूले पहिल्यैदेखि भन्दै आएको उल्लेख गर्दै उनले काङ्ग्रेसकै कारण कम्युनिस्टहरू स्थापित भएको बताए । चुनाव हार्ने बित्तिकै कम्युनिस्टसँग मिल्नुपर्ने कारण नभएको बताएका उनले सङ्घीयता कार्यान्वयन विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्ने धारणा राखे ।

पार्टीले आन्तरिक रूपमा समेत विकेन्द्रीकरणलाई अनुसरण गर्नुपर्ने बताउँदै डाक्टर कोइरालाले टिकट वितरणमा समेत स्थानीय स्तरका कार्यकर्ताको भूमिका प्रभावकारी हुनुपर्ने बताए । कोइराला धरानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन सुनसरी आएका हुन् ।