इटहरी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल हुने स्पष्ट बताए ।

तपाईँ गृहमन्त्री बन्दै हुनुहुन्छ भन्ने हल्ला छ भन्ने प्रश्नमा थापाले भने 'म अहिले नै महामन्त्री छु नि !' नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलनमा आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकार सँग कुरा गर्दै उनले प्रचण्डको अस्थिरताको कारण सरकार परिवर्तनको अवस्था सृजना भएको प्रस्ट पारे ।

२०८४ सम्म काँग्रेस प्रतिपक्षमै बस्छ भन्नु हुन्थ्यो ? भन्ने प्रश्नमा थापाले त्यो आफ्नो इच्छा मात्र भएको बताए । 'मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ', उनले भने ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता, समानुपातिक व्यवस्था, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ हुने गरी संविधानको पुनरावलोकन गर्नुपर्ने काँग्रेसको प्रस्ताव भएको सुनाए ।