धरान : सामान्य विवादमा झगडा हुँदा तेह्रथुमको वसन्तपुरमा बिहीबार दिउँसो खुकुरी प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लालीगुराँस नगरपालिका-८ का २३ वर्षीय दीपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेको हो ।

४६ वर्षीय आमा तिलमाया नेपालीलाई शरीरको विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटना लगत्तै जिल्ला प्रहरी तेह्रथुम र इलाका प्रहरी कार्यालय वसन्तपुरको प्रहरी टोलीले घटनास्थल पुगेर छोरा दीपक नेपालीलाई पक्राउ गरेको छ ।

प्रहरी अनुसार हिजो दिउँसो सामान्य विवादमा झगडा हुँदा दीपकले आफ्नी आमालाई खुकुरी प्रहार गरेको बुझिएको छ । शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङ्लुङ पठाइएको छ ।

हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।