धरान : भारत तथा नेपालका विभिन्न बैङ्कको खातामा मोबाइल बैङ्किङ मार्फत अभौतिक मुद्राको कारोबारमा संलग्न ६ जनालाई विराटनगरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर-१५ बाट पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका-११ का २२ वर्षीय शिवशङ्कर यादव, राजगढ गाउँपालिका-३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ वर्षीय रञ्जित कुमार यादव, विराटनगर-१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर-१५ मा बस्दै आएका ३३ वर्षीय सञ्जीव कुमार मण्डल छन् ।

उनीहरूले स्थानीय सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोबार गर्दै आइरहेका थिए । प्रहरीलाई प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो ।

घर कोठा खानतलासी गर्दा मोवायल १६ थान, विभिन्न बैङ्कको एटिएम कार्ड ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैकको चेक २८ थान, विभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान बरामद भएको छ ।

साथै मोटरसाइकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।