वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोगको महामारीलाई न्यूनीकरणका लागि पूर्व तयारी सुरु गरेको छ ।

गएको वर्षहरूको तथ्याङ्कका आधारमा डेङ्गु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले वडा-वडामा गएर सरोकारवालाहरूलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।

शुक्रवारबाट सुरु उक्त कार्यक्रम वडा नं १ र वडा नं २ मा सम्पन्न भएको छ । वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाका जनप्रतिनिधिहरू, वडामा रहेका कर्मचारी ज्युहरू, वडामा रहेका स्वास्थ्य संस्था, विद्यालयका प्रतिनिधि ज्युहरू, महिला स्वास्थ्य स्वयंसेविका ज्यु, सङ्घसंस्थाका प्रतिनिधि ज्युहरू, राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

'खोज र नष्ट गर' अभियानलाई प्राथमिकतामा राखेर सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहता, चतरा अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले सहजिकरण गरेका थिए ।

डेङ्गु रोग न्यूनीकरण र यसबाट सुरक्षित रहन व्यक्तिगत सरसफाइमा लाग्न नगर प्रमुख रमेश कार्कीले आग्रह गरे । नगरपालिकाले आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने बताए । डेङ्गु रोगको लक्षण देखा परेका बिरामीहरूलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण, जीवन जल र आवश्यक औषधिहरूको व्यवस्थापन गर्ने छ । यसलाई चतरा अस्पताल, नगर अस्पताल, मधुवन प्राथमिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र व्यवस्थापन गरिनेछ ।  व्यक्तिगत सरसफाइ, घर वरवरको सरसफाइमा लाग्न नगरवासीलाई आग्रह गरे । घर वरवरको पानी जम्ने खाडल पुर्न, पानी जम्न नदिन, सरसफाइमा लाग्न र डेङ्गुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।

नगरपालिकाले डेङगु सङ्क्रमणलाई विपथकै रूपमा लिएर व्यवस्थापन, आवश्यकतालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभावकारी रूप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सामाजिक सङ्घसंस्थालाई नगर प्रमुख कार्कीले निर्देशन दिए ।

डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने लार्भा सर्च एन्ड डिस्ट्रोयर्ड (खोज नष्ट गर) अभियानलाई टोल टोलमा पुर्याउने उनले बताए ।

Dengue News Barahachetra 081-03-21 2nd