इटहरी : गत बुधवार जलसमाधी लिन भन्दै सम्पर्क विहीन भएका इटहरीका प्रतिष्ठित समालोचक रामजी तिम्सिना अझैसम्म पत्ता लाग्न सकेका छैनन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका तिम्सिना बराहक्षेत्रमा जलसमाधी लिन जाने जानकारी गराएर बेपत्ता भएका हुन् ।

बुधवार बिहान ४ बजेर १८ मिनेटमा 'म बराहक्षेत्रमा जलसमाधि लिदैँछु, अलबिदा ।' लेखेर उनी घरबाट हिडेका थिए ।

"मिति २०८१/०३/१९ बुधवार बिहान ४ः१८ बजे" लेखेका उनी कहाँ छन् भन्नेबारे परिवार, प्रहरी र शुभचिन्तकहरू बेखबर छन् । परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन माग गर्दै निवेदन दिएको छ ।

प्रहरीले पनि खोज कार्य तीव्र पारेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चतरा आसपास मोबाइलको लोकेसन देखिएकाले सोही क्षेत्रमा खोजी भई रहेको छ । तिम्सिनाको खोजीमा गोताखोरको टोली समेत परिचालन भएको उनको भनाइ छ ।

तिम्सिना महेन्द्र बहुमुखी क्याम्पस धरान र कोसी कलेज इटहरीमा प्राध्यापन गर्छन् ।