झापा : झापामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।

झापाको बिर्तामोडमा पानीमा डुबेर बिर्तामोड नगरपालिका १० ईलामेली टोल बस्ने ३५ वर्षका सुनिल मुर्मुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

आज दिउँसो पानै ३ बजेतिर बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मुको घरनजिकै रहेको पैनीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले देखेर जानकारी गराएपछि तत्कालै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटी गएको प्रहरीको टोलीले मुर्मुलाई मृत अवस्थामा फेला परेको थियो ।

झापामा गएराति देखी निरन्तर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले झापाका ठुला नदिहरु मेची, निन्दा, बिरिङ, कमल, कनकाई, रतुवा लगायतका नदिहरुमा पानीको बहाव बढेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन झापा प्रशासनले आग्रह समेत गरेको छ ।