धरान : ज्यालादारी श्रमिक नवराज मगरले आइतबार साइकल पाएका छन् । धरान वडा १९ बाट ज्यालादारी काममा धाउन उनलाई अब बल्ल सजिलो भएको छ ।

उनलाई साइकल नेपाली काँग्रेसले प्रदान गरेको हो । उनी पार्टीको वडा सदस्य पनि हुन् । साइकल किन्ने आर्थिक अवस्था पनि नभएका मगर काँग्रेसका इमानदार कार्यकर्ताको रूपमा चिनिन्छन् ।

ज्यालादारी काम कहिले कहाँ हुन्छ कहिले कहाँ । साइकल सम्मको साधन नहुँदा समयमा पुग्न गाह्रो भइरहेको बेला अब नवराज मगरको दैनिक जीवन अलिकति भए पनि सहज भएको उनले बताए ।

साइकल काँग्रेस धरान वडा १९ कार्यसमितिको सहयोगमा १९ हजार रुपैयाँ मूल्यमा खरिद गरिएको हो । सानै सहयोग भएपनि कार्यकर्तामा उत्साह बढाउन हिजो साइकल प्रदान कार्यक्रम आयोजना गरियो ।

प्रमुख अतिथि काँग्रेस उपमहानगर सभापति श्याम पोख्रेलले मगरलाई साइकल हस्तान्तरण गरे । उनले भने, ‘काँग्रेसी मनको पनि धनी छन् भन्ने उदाहरण १९ वडा कमिटीले प्रस्तुत गरेको छ ।’

उनले दैनिक जीवनमा आर्थिक स्थितिका कारण ससाना लाग्ने कुराले मानिसको दैनिक व्यवहारमा भोगी रहेका कठिनाइ सहज बनाउन आपसी सहयोगबाट पनि सम्भव हुन्छ भन्ने अनुकरणीय उदाहरण वडा १९ ले देखाएको बताए । कार्यक्रममा नगर सचिव जितेन्द्र राई, प्रदेशसभा कोषाध्यक्ष रबिना सुब्बा गुरुङ लगायतको कार्यकर्ताहरूको ठुलै उपस्थिति थियो ।

सभापतित्व काँग्रेस धरान-१९ का कार्यवाहक सभापति टङ्क सुबेदीले गरेका थिए । सञ्चालन वडा सचिव नरेश लिम्बुले गरेका थिए ।