सुनसरी : जिल्लाको दक्षिणी नेपाल-भारत सीमा इलाकाबाट दैनिक उपभोग्य वस्तु र सामाग्रीको तस्करी बढेको छ । खुलेआम अवैध पैठारी बडेपनि चासो नदिएकाले प्रहरीको पनि मिलेमतो रहको स्थानीयले आशङ्का गरेका छन् ।

दक्षिणी सिमाक्षेत्र घुस्की, कप्तानगंज, बसन्तपुर, देवागन्ज, भुटाहा औराबनी हुँदै तस्करीबाट भित्रिएको सामाग्री इटहरीको बजार आइपुग्ने गरेको छ । अवैध पैठारी गरिएका समानहरू इटहरी बजारबाट सङ्गठित रूपमा बजारीकरण गरिने व्यवसायीहरू बताउँछन् ।

तस्करीमा कपडा, किराना सर-समानहरू, हार्डवेयर, मैदा, चिनी, खाने तेल, अवैध कुखुरा, स्याउ, सुपारी रजनीगन्धा, खैनी, कस्मेटिक सामाग्री हुने गरेका छन् । 

अवैध रूपमा पैठारीका लागि विभिन्न नाकामा बिचौलियाहरूले प्रहरीसँग सेटिङ गरे उक्त सामाग्री नेपाल भित्रिने गरेको छ । तस्करहरूले घुस्की नाका, कप्तानगन्ज नाका, बसन्तपुर नाकामा प्रहरीसँग सेटिङ मिलाउन विचौलीयहरू राखेका छन् ।

तस्करहरूले प्रहरीहरूलाई मासिक रकम दिएर राजश्व छलेर ल्याएका अवैध सर-समानहरू इटहरी र इनरुवा बजारमा विक्री गर्दै आएका छन् ।

तस्करीको समान ओसारपसार गर्न मोटरसाइकल, साइकल, ट्याम्पो, पिकअप, भ्यान, ट्र्याक्टर, म्युजिक लगायत सवारी प्रयोग गरिएतापनि सम्बन्धित नाकामा कुनै चेकजाँच नहुने स्थानिय बताउँछन् ।

तस्करहरू उद्योगका लागि समेत आवश्यक सामग्री भन्सार छलेर ल्याउने गरेका छन् । उनीहरूले बिस्कुट फैकटरीका लागि चिनी र मैदा सप्लाई दिने गरेका छन् ।