इटहरी : सर्वसाधारणलाई आइपिओ बिक्री गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बिजुली काटिएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार राती इटहरी-१२ मा रहेको रिलायन्स कम्पनीको लाइन काटेको हो ।

विद्युत् प्राधिकरण इटहरीका प्रमुख राम शाहका अनुसार कम्पनीले ७५ करोड ३६ लाख ८४ हजार महसुल बापतको रकम भुक्तानी गर्नुपर्ने देखिएको छ । विद्युत् महसुलको बक्यौता चुक्ताको कार्यतालिका बुझाउन कम्पनीलाई दिएको समयसीमा कटिसकेको हुँदा लाइन काटिएको उनले बताए ।

प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन बापतको बक्यौता नबुझाएको भन्दै रिलायन्स सहित घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको छ । प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने ६१ वटा उद्योगको लाइन काटेको थियो ।

उद्योगको बक्यौता सम्बन्धी अध्ययन गर्न बनेको आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्देशन विपरीत नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्क्याउने काम भएको उद्योगीहरूको आरोप छ ।