वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ८ औँ साधारण सभा सम्पन्न गरेको छ ।

बुधवार उपभोक्ता समितिले कार्यालयको सभाहलमा आर्थिक वर्ष २०७९/८० को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा आयोजना गरेको हो ।

समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार १ करोड ९४ लाख ७ हजार ३ सय ६७ रुपैयाँ १० पैसा आम्दानी गरेको छ । खानेपानी महसुल बापत ६१ लाख ५ हजार ९ सय ७४ रुपैयाँ ६९ पैसा सङ्कलन गरेको समितिले खानेपानी डिभिजन कार्यालय ८२ लाख ८७ हजार ३ सय ७८ रुपैयाँ र सङ्घीय खानेपानी कार्यालयबाट २० लाख २ हजार २ सय १८ रुपैयाँ बजेट प्राप्त गरी कार्यान्वयन गरेको छ । कोषाध्यक्ष रेणु कुमारी तिम्सिना कार्कीले आव २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. ०८०/८१ का लागि २ करोड १३ लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् । उनले चालु आर्थिक वर्षको प्रतिवेदन आगामी मङ्सिरमा प्रस्तुत गर्ने बताइन् । यस्तै लेखा समितिको प्रतिवेदन संयोजक दीपक कार्कीले प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कार्कीले कार्यालयको वार्षिक सञ्चालन खर्च ७२ लाख ६० हजार ३ सय ७ रुपैयाँ २२ पैसा र अनुदान मार्फत भएको निर्माण खर्च ७३ लाख २५ हजार ९ सय ८५ रुपैयाँ ३७ पैसा रहेको उल्लेख गरेका छन् । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले सेवा क्षेत्रको सामाजिक बनोट, जातिगत अवस्था, पानी वितरणको वर्तमान अवस्था, संस्थागत अवस्था, परिकल्पना, लक्ष्य, उद्देश्य, कार्यक्रमका उपलब्धि, तत्कालीन र दीर्घकालीन उद्देश्य, अवसर र चुनौती प्रस्तुत गरेका थिए । अध्यक्ष सिग्देलले साधारण सभामा ५ बुँदे प्रस्ताव पेस गरेका छन् । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिग्देलले प्रत्येक उपभोक्तासम्म खानेपानी र सरसफाइ शिक्षा पुर्याउने बताए । हाल खानेपानी समितिले जम्मा १ हजार ४ सय ८९ धारा वितरण गरेको छ । प्रतिदिन १२ घण्टा औसत रूपमा समितिले पानी वितरण गर्दै आएको छ भने प्रतिदिन २४ लाख लिटर पानी खपत हुने तथ्याङ्क रहेको छ । उपभोक्ताबाट समितिले न्यूनतम १० हजार लिटर (१० युनिट) बराबर १ सय २५ रुपैयाँ मासिक रकम सङ्कलन गर्दै आएको छ ।

साधारण सभामा कोसी प्रदेश सभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यमा रहेको थियो । समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलको सभाध्यक्षयतामा सम्पन्न उद्घाटन सत्रमा उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण भट्टराई, समितिका सल्लाहकार प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।