इटहरी : नेकपा एमाले इटहरी नगर अधिवेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो बैठकले इटहरी उपमहानगरपालिका भित्र भएका अनियमितता र भ्रष्टाचारको खुलेर विरोध गर्ने निर्णय गरेको छ । हालै सार्वजनिक सञ्चार माध्यममा आएको इटहरी उपमहानगरपालिकाले सी.टी. स्क्यान मेशिन खरिदमा भएको अनियमितताको छानबिन गर्न एमालेले माग गरेको हो ।

बुधवारको पद तथा गोपनीयताको शपथ लिएसँगै बसेको नगर कमिटीको पूर्ण बैठकले नगर बस, सी.सी. क्यामेरा र इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिदमा उपमहानगरलाई घाटा हुने गरी मिलेमतोमा मापदण्ड बनाई करोडौँ भ्रष्टाचार भएको ठहर गरेको छ । पछिल्लो समय खरिद भएका सामग्रीको सत्य तथ्य बाहिर ल्याउन एमालेले माग गरेको छ ।

इटहरी उपमहानगरपालिकाको १५ औ नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट कानुनले निर्दिष्ट गरे बमोजिमको विधि प्रक्रिया नपुर्‍याई यथार्थ भन्दा अधिक आन्तरिक आय प्रक्षेपण गरिएकोमा आपत्ति जनाएको छ । बजेटको आधारमा योजना बाँडफाँड हुने र आम्दानी न्यून हुँदा भुक्तानी गर्न नसक्ने अवस्था सृजना हुने एमालेको ठहर छ ।

इटहरी उपमहानगर स्तरीय गुरुयोजना निर्माण र स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुपर्ने एमालेले जनाएको छ । आवश्यक अध्ययन नगरी, लगानी सुनिश्चितता विनानै हचुवाको भरमा खोला किनार खनेको नवनिर्वाचीत अध्यक्ष रुपेश बस्नेतले बताए ।

पानीको निकासहरूमा कोरिडोर बनाउने हास्यास्पद घोषणा गरेर सर्वसाधारण माथि गरिएको आतङ्क बन्द गर्नुपर्ने उनको भनाइ छ । औद्योगिक कोरिडोरमा राजमार्ग भएर बग्ने टेङ्ग्रा खोलाको डाइभर्सनबाट डुबान र कटानको प्रकोप न्यूनीकरण गर्न सकिने बस्नेतको बुझाइ छ ।

बैठकले अधिवेशनमा देखिएको आन्तरिक कलहलाई व्यवस्थापन गर्न पार्टी कमिटीलाई निर्देशन दिएको छ । पार्टीका जिम्मेवार नेतृत्व तहमा बाहिर देखिने गरी तिक्तता पूर्ण अन्तर्विरोध प्रकट हुने गरेकाले त्यसको मित्रवत् हल गरी सुदृढ, जुझारु र एकताबद्ध पार्टी निर्माण गरी मिसन ८४ सफल बनाउन आग्रह गरिएको छ ।