विराटनगर : बर्खाको समयमा पुलमुनी फोहोर थुप्रिएर जाम भएको केसलिया खोलालाई बेलैमा सरसफाइ गरी निकास दिइएको छ । अविरल वर्षा भइरहेको बेला विराटनगरमा हुने डुबान समस्या ल्याउने सम्भावना टरेको छ ।

केसलिया रोडस्थित पुलमुनि राखिएको ठुलो ह्युमपाइप, साइफन र पुल पूर्व र पश्चिमको नाला फोहोरले भएको थियो । बेलैमा जाम खोलिएपछि वर्षाको भेलले हुने डुबान समस्या टरेको हो ।

वर्षौँदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरी लगायतका क्षेत्र डुबानमा पर्दै आएका थिए । १५ दिनअघिको मुसलधारे वर्षामा नालाको पानी बाहिर आउँदा मरिक टोल, जनपथ टोल, पिचरा, बखरी क्षेत्र डुबान भएको थियो ।

केसलिया नहरको पुलमुनि राखिएको ठुलो ह्युमपाइप पूर्ण रूपमा जाम भएको हो । सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार केसलिया रोडको दक्षिणको नाला र ह्युमपाइप मारुती गाडी अब चल्न सक्छ ।

मेयर नागेश कोइरालाको प्रत्यक्ष निगरानीमा स्थानीय युवाहरूको सहयोगमा जाम खोल्न ८ घण्टा लागेको थियो । नालाभित्र भाँचिएका कुर्सी, बिग्रिएका टेलिभिजन, प्लास्टिकका बोरा, काठ, इँटा लगायत फोहोर जम्मा भएका थिए ।

मेयर कोइरालाले भने ‘मानिसकै कारण नालाहरू जाम हुने गरेको छ ।’ फोहोर जतासुकै फाल्दा नालामा जाम हुने, नाला जाम हुँदा डुबान हुने गरेको उनको भनाई छ । उनले भने ‘पैनी, नहर र नालामा फोहोर नफाल्ने हो भने विराटनगरको ७० प्रतिशत डुबान समस्या समाधान हुन्छ ।’

घर अगाडिका नालाको स्ल्याब भत्किएको समेतमा स्थानीयले ध्यान नदिँदा नाला भरिएर सडक डुबान हुने गरेको छ। बढी डुबान हुने वडा ३, १३ र १५ स्थित ८ लेन छेउको नाला महानगरपालिकाले सफा गरेपछि विगतमा जस्तो डुबान नभएको स्थानीयको भनाइ छ ।