धरान : नेपालमा धेरै मातृभाषा भएतापनि विश्वभर फैलिएका नेपालीहरूको भावनालाई नेपाली भाषा र साहित्य, सङ्गीतले जोडेको नेपाली लेखक सङ्घका पूर्व केन्द्रीय सदस्य प्राध्यापक डा.गोपालप्रसाद भण्डारीले बताएका छन् ।

धरानको भानुचौक स्थित भानुको सालिकमा शनिवार आयोजित २११ औँ भानु जयन्तीमा उनले भने, ‘नेपाली भाषा र साहित्य, सङ्गीतले विश्वभरका नेपालीहरूलाई जोडेको छ ।’ विविध मातृ भाषीहरूका बिच पनि नेपाली भाषा एकताको आधार बनेको उनले बताए ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती नेपाली लेखक सङ्घ सुनसरी जिल्ला समितिको आयोजनामा मनाइएको हो । प्रमुख अतिथि डा.भण्डारी थिए ।

भानुको सालिकमा भानु जयन्ती मनाउँदै धरान-१३ स्थित सैनिक आवासीय महाविद्यालयका विद्यार्थीहरूले भानुभक्तीय रामायण पाठका साथै कविता वाचन गरेका थिए ।

नेपाली लेखक सङ्घ सुनसरी जिल्ला अध्यक्ष हर्ष सुब्बा सहित सङ्घका पदाधिकारहरू, महाविद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी लगायतले उक्त अवसरमा भानुभक्तको सालिकमा सयपत्रीको माला, पुष्प गुच्छा अर्पण गरी श्रद्धा प्रकट गरेका थिए ।

कार्यक्रममा डा.भवानीशंकर भट्टराई, डा.महानन्द तिम्सिना, वंशीधर कट्टेल, कवि, साहित्यकार, पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रम संयोजन सङ्घका जिल्ला सचिव विजय घिमिरेले गरेका थिए ।

Bhanu jayanti 2081 2nd

Bhanu jayanti 2081 3rd