विराटनगर : विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले शुक्रवार उक्त मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।

भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरूले होम होमादी गरी प्राण प्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायिक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

वि.स.२०७९ सालमा माघमा बाल ब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत महापुराणबाट सङ्कलित रकमबाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।

यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिवलिङ ल्याइएको हुँदा यसको महत्त्व पनि उत्तिकै रहेको छ ।