विराटनगर : नेपाल-भारत सिमानाकाहरूमा लागुऔषध नियन्त्रण गर्दै दुर्व्यसन रहित समुदायको लागि कोशी प्रदेश प्रहरीले 'दुर्व्यसन विरुद्ध आमाहरू' अभियान सुरु गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको सभापतित्वमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो । अभियान जिल्ला प्रहरी मोरङ, इलाका प्रहरी रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सुरु गरिएको हो ।

प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग, ओसार पसार नियन्त्रण गर्दै युवाहरूलाई कुलतबाट जोगाउन सञ्चालनमा ल्याएको 'दुर्व्यसन विरुद्ध आमाहरू' अभियान स्वागत योग्य रहेको बताए ।

प्रदेश प्रहरी प्रमुख खापुङले 'दुर्व्यसन विरुद्ध आमाहरू' कोशी प्रदेशमा अभियानकै रूपमा ल्याएको बताउँदै 'बालबालिकाहरूसँग बढी समय आमाहरूले बिताउने हुँदा उनीहरूको वानी ब्यहोरामा आएको परिवर्तन आमाहरूले थाहा पाउने भएकाले 'आमा समूह'को अगुवाइमा अभियान सुरु गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयले सीमा नाकाहरूलाई लक्षित गरी दुर्व्यसन निरुत्साहित गर्न सचेतना मूलक अभियान अघि बढाइएको उनले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले गत चैत्र १४ देखी सुरु भएको 'दुर्व्यसन विरुद्ध आमाहरू' अभियान प्रदेशका पालिका र वडा सम्म कार्य समिति गठन गरी अघि बढाउने बताए । यसलाई थप प्रभावकारी बनाउन सीमा नाकालाई लक्षित गरी अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे ।

मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई, मोरङ जिल्ला प्रहरी उपरीक्षक नवराज कार्की, विराटनगर-१५ का वडाध्यक्ष प्रकाश साह र सामाजिक अभियन्ता सदिना खातुनले धारणा राखेका थिए ।

सुरक्षा निकाय प्रमुखहरू, सामुदायिक सेवा केन्द्र रानीका पदाधिकारी, नागरिक समाज, आमा समूह, सङ्घ, संस्था, ज्येष्ठ नागरिक, महिला सञ्जाल, युवा समूह, स्थानियबासीहरूको उपस्थितिमा अभियानको जानकारी गराइएको हो ।

durbyasan birudha aamaharu 2

durbyasan birudha aamaharu 3