वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालमा आधुनिक आकस्मिक (इमर्जेन्सी) कक्षको उद्घाटन गरिएको छ । अस्पतालको आन्तरिक स्रोतबाट निर्माण भएको उक्त आकस्मिक कक्षको सोमवार नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले उद्घाटन गरेका छन् ।

अस्पतालकै आन्तरिक स्रोत बाट तयार भएको ९ वेट क्षमताको आकस्मिक रहेको छ । आकस्मिक कक्षसँगै अस्पताल परिसरमा टायल लगाउने र शौचालय गरेर २० लाखको लागतबाट काम गरिएको अस्पतालका व्यवस्थापक दिवस विष्टले बताए ।

नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको प्रमुख आतिथ्ययतामा आयोजना भएको उद्घाटन कार्यक्रम नगर उप-प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार, वडा नं ६ का अध्यक्ष उद्बब पोखरेल, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, अस्पताल व्यवस्थापन समितिका सदस्य अनु गुरुङ, रत्न राउत, तुलसा राई,  पृश्बी चन्द्र भगत, अस्पतालका व्यवस्थापक मोहन सुवेदी, अस्पतालका चिकित्सक, कर्मचारीहरूको लगायतको उपस्थिति रहेको थियो ।

आकस्मिक कक्षसँगै साउन १ गतेबाट विषय विज्ञ सहितको दन्त, फिजिसियन, बालबालिका, गाइनो लगाएको सेवाहरू बिस्तार समेत गरिने अस्पतालका व्यवस्थापक दिवस विष्टले बताए ।

वराहक्षेत्र नगर पालिकाद्वारा सञ्चालित "वराहक्षेत्र नगर अस्पताल" को सेवा र प्रशासन व्यवस्थापनमा नगर प्रमुख आएसँगै रूप नै फेरिएको छ । हाल अस्पतालबाट प्रवाह हुने सेवाहरू थपिएका छन् । २०७६ जेठ १३ गते स्थापना भएको उक्त नगर अस्पताल २०७९ सालको जेठसम्म आइपुग्दा लेखा परीक्षणको (अडिट) रिपोर्टका आधारमा आर्थिक दायित्व भुक्तानी दिन नसक्दा सेवाहरू समेत ठप्प हुने स्थितिमा पुगेको थियो ।

नगर प्रमुख रमेश कार्कीले अस्पतालको व्यवस्थापन पक्षलाई प्राथमिकताका साथ राखेर काम सुरु गरेपछि अस्पतालको सेवा र प्रशासन व्यवस्थापनको रूप नै फेरिएको हो ।

हाल अस्पतालमा सेवाहरू थपिएका छन् भने व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि तिरी सकेको छ । अस्पतालका सहायक व्यवस्थापक दिवस बिस्टका अनुसार नयाँ समितिले लेखा परीक्षण रिपोर्टका आधारमा दायित्व भुक्तानी गरेको छ । हाल अस्पतालले मार्सिक रूपमा करिब ८०-९० लाखको कारोबार गर्ने र करिब १० लाख रकम बचत गर्ने विष्टले बताए ।

हाल अस्पतालमा २ सय ५० देखि ३ सयको सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडी सेवालाई बढाएर बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाल अस्पतालले  वर्षको ३६५ दिनै सार्वजनिक बिदा र शनिवार समेत 'बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा' र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ ।

२४ सै घण्टा इमरजेन्सी, ल्याब,  फार्मेसी, भिडियो एक्स-रे, फिजोयोथेरापी सेवा, हप्ताको दुई दिन आइतबार र बुधवारका दिन आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बुधवारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू रूपमा सञ्चालन भइरहेको छ ।

अस्पतालकै नाफाबाट फार्मेसी भवन निर्माण भएको र एमडिजिपि सहित विशेषज्ञ डाक्टर, डेनटल लगाएका अन्य सेवा थप गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए । नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण  नगरवासीलाई स्वास्थ्यको पाउजुसम्म पुराण लागि परेको बताए । चक्रघट्टि, चतरा र मधुबनका अस्पतालमा सेवा बिस्तारदेखि सुर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम, कोसिपारी स्वास्थ्यकर्मी र भवनको काम भइरहेको र सम्पूर्ण वडाहरूमा स्वास्थ्य संस्था स्तर वृद्धि र जनशक्ति व्यवस्थापनमा नगरपालिकाको योजना रहेको कार्कीले बताए ।

Baraha Hospital 2

Baraha Hospital 3