• अनुसा थापा

आइतबार बिहान ११ बजेतिर काठमाडौँको अनामनगरस्थित एक होटेलमा दुई व्यक्ति चिया खान गए । होटेल राम्रै थियो । त्यहाँको फर्निचर, सरसफाइ र सजावट सबैलाई आकर्षित गर्ने खालको थियो । होटेलमा गएका ती दुई ग्राहकले लेमन टिई खाए । र, दुइटा लेमन टिईको ७० रुपैयाँ भनियो ।

ग्राहकले सय रुपैयाँको नोट दियो । तर, ३० रुपैयाँ पनि नभएपछि होटेल सञ्चालक बाहिर पैसा लिन गए । उनले करिब १५ मिनेट लगाएर पैसा ल्याए । अर्कोतर्फ, होटेलमा ती दुई ग्राहकबाहेक अरू कोही पनि थिएन । होटेल सुनसान थियो । मानौँ कि दिनभर कोही आउँदैन । ग्राहक नआएपछि घर भाडा कसरी तिर्ने ? कसरी दैनिक खर्च धान्ने ? कसरी राज्यलाई कर तिर्ने ?

हामी मानिस भोक लागेपछि केही खान होटेल जान्छौँ । तर, खाने ठाउँमा त व्यापार छैन भने अन्य व्यापार व्यवसायको हालत के होला ? व्यापारीहरूको भनाइअनुसार बजार पूरै मन्दीमा छ । कोहीसँग पनि पैसा छैन । पैसा हुनेले पनि लुकाएका छन् । नहुनेसँग त हिजो पनि थिएन र आज पनि छैन । यहाँका ठुल्ठुल्ला व्यापारी, कर्मचारी, नेताहरूले विदेशी बैङ्कमा पैसा राखेको बताइन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन् । उनको दुई वटै मिर्गौला फेरिएको छ । यसअघि प्रधानमन्त्री हुँदा उनी मिर्गौला फेर्न कहिले विदेशी अस्पताल त कहिले स्वदेशी अस्पतालमा धाएको अवगत नै छ । ओली ०४८ सालपछि विभिन्न मन्त्री हुँदै प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनी प्रधानमन्त्री हुँदा बालुवाटारमा बाँसुरी बजाएर बस्थे ।

पार्टी र मन्त्रिपरिषद्को बैठक समेत बालुवाटारमै राख्थे उनी । बालुवाटारमा तिजको कार्यक्रम राखेर नाचगान गर्नुका साथै उनले आफ्नो जन्मभूमिमा देशकै नक्सा केक बनाएर काटेर समेत खाए । जनतासँग आँखा र दिमाग दुवै छ । त्यसैले, ओलीले विगतमा प्रधानमन्त्री हुँदा गरेको कामको जनताले मूल्याङ्कन गरिसकेका छन् ।

अहिले मुलुकको अर्थ व्यवस्था नाजुक अवस्थामा पुगेको छ । बैङ्क तथा वित्तीय संस्था टाट पल्टिने अवस्थामा पुगेका छन् । लघुवित्त, सहकारी, फाइनान्स त डुबिपनि सकेका छन् । सहकारीले मात्र करोडौँ बचतकर्ताको खर्बौँ रकम खाएको छ । बचतकर्ताहरूलाई घर न घाटको बनाएको छ सहकारीले । जनता निराश हुँदै गएका छन् ।

नेपाली काँग्रेस र नेकपा एमाले आआफ्नो स्वार्थका लागि जोडिएको छरपस्ट भइसकेको छ । झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा दुरुपयोग गरेको आरोप लागिरहँदा ओलीले काँग्रेससँग हत्तपत्त सहमति गरे । यता, आफ्नी पत्नी आरजु राणालाई नक्कली भुटानी शरणाथी प्रकरणमा बचाउन सभापति शेरबहादुर देउवाले पनि काँग्रेसको सिद्धान्त, विचार र धारणा नै बिर्सिएर ओलीसँग सम्झौता गरे ।

अहिले सेयर दलालीहरू विष्णु पौडेल अर्थमन्त्री हुनासाथ बजार पहिलाकै अवस्थामा फर्किने भन्दै सर्वसाधारण फसाइरहेका छन् । यसअघि पौडेल अर्थमन्त्री हुँदा यसरी नै हल्ला फिँजाएर बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३२ सय रुपैयाँ पुराइएको थियो । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था निम्तिएपछि ६५ लाख जनता चुर्लुम्मै भए ।

यसअघि अर्थमन्त्री हुँदा पौडेलले ६५ लाख जनतालाई सेयरमा लगानी गर्न लगाई सडक छाप बनाइदिएका थिए । र, यस पटक अर्थमन्त्री हुँदा कति लाखलाई बनाउनेछन् । पौडेल अर्थमन्त्रीबाट हटेपछि जर्नादन शर्मा, डा.प्रकाश शरण महत अनि वर्षमान पुन पनि अर्थमन्त्री बने । तर, तीन जनाको पालामा सेयरको मूल्य बढेन । अहिले जनता भन्छन्, ‘ओली नेतृत्वको सरकार सय दिन पनि टिक्दैन ।’

अर्को रोचक कुरा सेयरमा पनि एमालेकै लगानी रहेको स्पष्ट भइसकेको छ । एमालेका विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयरको मूल्य बढ्छ । र, अन्य पार्टीका नेताहरू अर्थमन्त्री हुँदा सेयरको मूल्य बढ्दैन । फेरि विष्णु पौडेल पनि कतिन्जेल चाहिँ अर्थमन्त्रीमा टिक्ने होला र । एक दिन त उनले पनि कुर्सी छोड्नै पर्छ । अनि त्यतिखेर अहिले फेरि पोडैल अर्थमन्त्री हुँदा महँगोमा सेयर किनेकाहरू चुर्लुम्मै डुब्नेछन् ।

सर्वसाधारणको आँकडाअनुसार ओली सरकार सय दिन पनि टिक्दैन । सय दिनपछि ओली सरकार ढलेसँगै पौडेलको पनि अर्थमन्त्री पद गुम्छ । अनि सय रुपैयाँको सेयर ३२ सय हालेर किन्ने सर्वसाधारण पहिलाका लगानीकर्ता डुबेर सडक छाप भएको अवस्थामा पुग्नेछन् । इतिहास हेरौँ पहिला गार्भेट, गलैँचा अनि फिल्म हलमा लगानी गर्नेहरू थुप्रा थिए ।

तर, सबै डुबे । यसपछि जग्गा प्लटिङ गर्नेहरूको पनि डुब्ने दिन आयो । सहकारीमा नाफा देखेपछि च्याउ उम्रिएझैँ सहकारी खोलिन थाल्यो । यद्यपि, सहकारी पनि डुब्यो । होइन सहकारी मात्र डुबेन, करोडौँ बचतकर्ता पनि डुबे । अहिले अटो शोरुम हरू समेत डुबेका छन् । यहाँ दलालीहरू नयाँ पोलिसी ल्याउँछन् अनि सर्वसाधारणलाई लगानी गर्न लगाई डुबाउँछन् । दलालीहरूले के सम्म गरेका छैनन् र । हिजो पाँच हजार आनामा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचिदिए । त्यति महँगोमा जग्गा किन्नेहरू अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बेचौँ मूल्य छैन, बैङ्कको ऋण तिरौँ पैसा छैन । गाडीमा लगानी गर्ने सर्वसाधारण पनि यसरी नै डुबेका छन् ।

हिजो दुई लाखको सवारीसाधन ३०–३५ लाखमा किन्ने सर्वसाधारण आज चुर्लुम्मै भएका छन् । अहिले पैसा हुनेका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गएका छन् भने पैसा नहुनेका छोराछोरी खाडी पुगेका छन् । गाउँदेखि सहरै रित्तिएको छ । शेरबहादुर देउवाका छोरा अमेरिकामा पढेर नेपाल आए ।

तर, उनको नाममा सयौँ रोपनी जग्गा रहेको बताइन्छ । जबकि उनी कुनै पनि व्यापार व्यवसायमा संलग्न छैनन् । अमेरिकामा पनि उनले पढे मात्र । काम गरेनन् । शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भइसके र अहिले पनि प्रधानमन्त्री हुन पल्किरहेका छन् । यता, उनकी पत्नीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेचेको आरोप छ ।

यसरी कमाएको अवैध रकमले भने छोराको नाममा सम्पत्ति राख्ने गरिएको छ । अहिले काँग्रेसभित्र देउवा दम्पतीको विरोध गर्ने कोही छैन । विगतमा गिरिजाप्रसाद कोइराला पार्टीको सभापति थिए । तर, देउवाले पार्टी नै फुटाएर आफू प्रधानमन्त्री हुन ५२ वटा मन्त्रालय नै खडा गरे । काँग्रेसमा गगन थापा, डा.शेखर कोइराला बाहिर पनि कराउने हो ।

उनीहरू देउवा दम्पतीको अगाडि आत्मसमर्पण गर्छन् । एमालेमा पनि ओलीको विरोध कोही गर्न सक्दैन । यसअघि पनि पटक पटक प्रधानमन्त्री भइसकेका र भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरू फेरि पनि प्रधानमन्त्री हुँदा देशमा के परिवर्तन हुन्छ ? जनताले कसरी सुख पाउँछन् ? यिनीहरूले आफूले गरेका काण्ड लुकाउन मात्र प्रधानमन्त्री बनेका हुन् ।

जनतालाई पनि यिनीहरू केही आशा छैन । जनता निराश छन् अनि काँग्रेस–एमालेका कार्यकर्ता खुसी छन् । आफ्नो सरकार आयो र फेरि भ्रष्टाचार गर्न पाइयो भनेर उनीहरू मक्ख छन् । अहिले सरकारी कर्मचारीहरू पनि खुसी छन् । किनकि आफ्नो पार्टीको सरकार आएसँगै भनेजस्तो ठाउँमा सरुवा, बढुवा हुन पाइयो नि त ।

काँग्रेस-एमालेका कार्यकर्ताले यो सरकारबाट थुप्रै चिज पाउलान् । तर, जनताले के पाउँछन् ? देशले के पाउँछ ? अहिले नेपालको विदेशी ऋण २७ खर्ब छ । तर, ओलीले केही महिनामै यसको दोब्बर–तेब्बर बनाइदिने छन् । यो सरकारले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउँछ र बजार चलायमान हुन्छ भनेर जनतामा कुनै पनि आशा छैन । ओलीले पहिला पनि प्रधानमन्त्री हुँदा उखान टुक्का भनेरै जनतालाई अलमल्याए । र, यस पटक पनि यही गर्ने छन् ।

अहिले साना दलहरू समेत सरकारमा सामेल हुँदै छन् । एउटा मन्त्रालय पाए पनि भ्रष्टाचार गर्न पाइने भएपछि आँखा चिम्लेर ओली सरकारलाई उनीहरू समर्थन गर्दै छन् । एमाले-माओवादीसहितको सरकार हुँदा केही महिनाअघि काँग्रेसले सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गर्‍यो ।

सो क्रममा काँग्रेसका नेता धनराज गुरुङ र ओलीबिच सदनमै भनाभन समेत परेको थियो । त्यति बेला एक अर्कालाई देखी नसकेका यिनी आज मिलेका छन् । यो जनता र सञ्चारकर्मीको आँखामा छारो हालिएको हो । बाहिर झगडा गर्ने अनि भित्र मिल्ने । राजनीतिक दलहरूमा देश र जनताभन्दा पनि सत्ता नै ठुलो भयो । जनता मरे पनि बाँचे पनि कसैलाई मतलब छैन ।

देशमा रोजगारी नभएपछि दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवाहरू खाडी बिदेसिएका छन् । ती जनताले रगतपसिना बगाएर पठाएको रेमिट्यान्सका यहाँ नेताहरू मोजमस्ती गर्छन् । अनि कसरी लाग्छ देश उँभो ? कसरी पाउँछन् जनताले सुख ?