झापा : झापाको गौरादहमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

आज साँझ ७:१० बजे गौरादह नगरपालिका वडा नं.१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा बा ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं.५ बस्ने २४ वर्षीय संजोक भण्डारी र मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष २७/२८ का दुर्गा ताजपुरीया घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा भण्डारीलाई साँझ ७:३० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।