विराटनगर : अविरल वर्षाले देशको विभिन्न ठाउँमा बाढी पहिरो, डुबानका घटना भइरहेको बेला विराटनगरमा डुबानको समस्या आइपरेमा नागरिकको उद्धार गर्न मोटरबोटको परीक्षण गरिएको छ ।

महानगरपालिकाले खरिद गरेको मोटरबोटको मङ्गलवार केसलिया नदीमा परीक्षण गरिएको हो । मोटरबोट ९ लाख ७५ हजारमा खरिद गरेको छ ।

नगर प्रहरीले गरेको परीक्षणका बेला मोटरबोटमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली चढेका थिए ।

मेयर कोइरालाले भने ‘मोटरबोटको सफल परीक्षण भएको छ, वर्षामा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने देखियो ।’ उनका अनुसार इन्जिन जडान नगरीकन पनि बोटलाई सञ्चालन गर्न सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदीमा आउने बाढीले हरेक वर्ष डुबानको समस्या उत्पन्न हुने गरेको छ । महानगरपालिकासँग यसअघि रबरबोट थियो । 

मोटरबोट खरिद गरिएपछि बाढी र डुबानमा फसेका नागरिकलाई तत्काल उद्धार गर्न सहज हुने मेयर कोइराला भनाई छ । यसअघि बाढी, डुबानका बेला उद्धारका लागि सशस्त्र प्रहरी, सुरक्षा निकायको मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

उपमेयर कार्कीले विपद्का बेला उद्धार गर्न सहज होस भनी मोटरबोट खरिद गरिएको बताइन् । परीक्षणमा संलग्न नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार विक्रेता कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ ।

त्यसपछि नगर प्रहरीले मोटरबोट आफैँ जडान गर्ने र सञ्चालन गर्ने उनले बताए । नगर प्रहरीका ४ जनाले बाढी र डुबानका बेला मोटरबोटबाट उद्धार गर्न विशेष तालिम लिएका छन् ।