धरान : संखुवासभामा पहिरोले एकै घरका ३ जना पुरिएकोमा १ जनालाई गम्भीर घाइते अवस्थामा जीवितै उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरी स्थित सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभानमा मगलवार गएको पहिरोले एकै घरका ३ जना पुरिएकोमा २ जनाको मृत्यु भएको थियो ।

स्थानिय मोतीमाया राईको टाटी बेरा भएको घरमा ढुङ्गासँगै झरेको पहिरो खस्दा घरमा रहेका ६ जना मध्ये ३ जना पुरिएका हुन ।

घर धनी ५५ वर्षीय मोतीमाया राई, बुहारी २७ वर्षीय समीक्षा राईको घटनास्थलमानै मृत्यु भएको हो । छोरी २७ वर्षीय रबिना राई गम्भीर घाइते अवस्थामा पहिरोबाट उद्धार गरी उपचारको लागी नेपाली सेनाको हेलिकप्टरद्वारा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौँ लगिएको छ ।

अन्य घरका सदस्य ज्वाइँ नाताका ३३ वर्षीय मनि कुमार राई, नाति १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीय समृद्धि राईलाई सकुशल उद्धार गरिएको छ ।

घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाको टोली खटी उद्धार कार्य भइरहेको छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको प्रहरीले जनाएको छ ।