धरान : कोशी प्रदेशमा प्राकृतिक प्रकोपबाट आर्थिक वर्ष २०८०/०८१ एक वर्षको अवधिमा ७७ जनाको मृत्यु भएको छ । उक्त घटनाहरूमा कुल २७७ जना घाइते भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उक्त अवधिमा सबै भन्दा बढी १ हजार ७३१ स्थानमा आगलागीका घटना भएका थिए । ४९६ स्थानमा पहिरो र ११७ स्थानमा बाढीले क्षति पुर्‍याएको थियो ।

१८४ स्थानमा हावाहुरी र ८७ स्थानमा चट्याङले क्षति पुर्‍याएको थियो । सबै प्राकृतिक प्रकोपका घटनाहरूमा मृत्यु र घाइते सहित कुल २ हजार २७४ घर परिवार प्रभावित भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकोपका उक्त घटनाहरूमा घर परिवारले पाल्दै आएको गाई वस्तुहरू पनि मरेर ठुलो क्षति पुर्‍याएको छ । तथ्याङ्क अनुसार उक्त घटनाहरू कुल ७ हजार ९०८ को सङ्ख्यामा चौपाया गाईबस्तु मरेका छन् । घाइते गाईबस्तुको सङ्ख्या २४४ रहेको छ ।

उक्त जानकारी प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।