धरान : वराहक्षेत्रमा मादक पदार्थ सेवन गरेर बालकले कानमा लगाएको सुनको मुन्द्री तान्दा नमानेपछि कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

वराहक्षेत्र-३ का ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा सोही वडाका विक्रम विकको ६ वर्षीय छोरा बालक अवि विकको मङ्गलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टिले जनाएको छ । कुटपिट गर्ने वीरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

दिउँसो मादक पदार्थ सेवन गरेका वीरबहादुर विकले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने कोशीश गरेका थिए । बालकले इन्कार गरेपछि उसलाई कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनाएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीपी प्रतिष्ठानमा ल्याउने क्रममा भएको हो । पक्राउ परेका बिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान र कानुनी कारबाही भइरहेको छ ।