धरान : धरान वडा १३ अमरबस्ती भएर बग्ने खहरे खोलामा लगाइएको ग्याविन जाली भत्काइएपछि स्थानीयले जिल्ला प्रशासनमा दिएको उजुरी अनुसार बिहीबार प्रहरी प्रशासनको उच्च अधिकारीहरूको टोलीले घटनास्थलको निरीक्षण एवम् अनुगमन गरेको छ ।

स्थानीयले प्रदेश सरकारको बजेटबाट खहरे नियन्त्रणका लागि निर्माण गरेको ग्याविन पर्खाल मेयर हर्क साम्पाङको निर्देशनमा भत्काइएको उजुरी जिल्ला प्रशासन कार्यालय इनरुवामा दर्ता गराएको थियो । उक्त ग्याविन पर्खाले धरान-१३ अमरबस्ती (क)को खहरेमा लगाइएको थियो ।

सोही घटनास्थलमा सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बेदराज फुँयाल राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत कृष्ण बहादुर खड्का, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, धरानका सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेलको टोलीले अनुगमन गरेको हो ।

टोलीलाई धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले घट्नाको विवरण, ग्याविन पर्खालको लागि प्रदेश सरकारबाट प्राप्त बजेटका बारेमा जानकारी दिएका थिए ।

ग्याविन जाली लगाइएकोमा एक तर्फका एक महिलाले खोला मिचेको भन्दै गुनासो गरेको भन्दै मेयर साम्पाङले भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएको वडाध्यक्ष काफ्लेको भनाई छ । उनले विरोध जनाउँदै डोजरलाई खहरेमा प्रवेश गर्न अवरोध पुर्‍याएपछि मेयर साम्पाङ र काफ्लेबिचको सम्बन्ध तिक्ततापूर्ण भएको छ ।

विवाद जिल्ला प्रशासन सम्म पुगेपछि अनुसन्धान र समस्या समाधान गर्ने उद्देश्यले अनुगमन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी फुँयालले बताए । ग्याविन भत्काइएको घट्नालाई प्रभावकारी समन्वयात्मक ढङ्गले समस्या समाधान नियन्त्रण गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार, 'ग्याविन जाली लगाइएको ८७ मिटरमध्ये ३० मिटर भत्काइएको पाइएको छ । घटनास्थलको स्थलगत निरीक्षण गरी विस्तृत बुझ्ने काम भइरहेको छ । उनले भने, ‘वास्तविकता बुझेर यसको समाधान गर्ने तर्फ हामी लागेका छौ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख उपरीक्षक विपिन रेग्मीले विवादको वास्तविकता बुझेर समाधान गर्ने अभिप्रायले धरान-१३ को अमरबस्ती (क) को खहरे खोलामै पुगेर अनुगमन गरिएको बताए ।

लगाइएको ग्याविन विवादित किन भयो भन्ने बुझ्नको लागि र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझ्नको लागि जिल्लाका अधिकारीहरूको टिमले घटनास्थलको निरीक्षण एवम् अनुगमन गरेको उनको भनाई थियो ।

वडाध्यक्ष काफ्लेका अनुसार खहरे खोलाले बर्सेनि क्षति गर्न थालेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कोशी प्रदेशबाट २० लाख रुपैयाँ बजेट खहरे खोला नियन्त्रणमा विनियोजन गरेको थियो । सोही बजेटबाट खहरे खोलामा तारजाली लगाइएमा भत्काइएको उनको भनाई छ ।