धरान : बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलन नियन्त्रण गर्न कर्फ्यु घोषणा गरिए तापनि शनिवार हिंसात्मक प्रदर्शनमा १० जनाको मृत्यु भएको छ । यो समेत आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ ।

कर्फ्युका बाबजुद शनिवार राजधानी ढाकामा भएको हिंसक झडपमा १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा २ जना प्रहरी पनि छन् । झडपमा ९१ जना घाइते भएका छन् ।

आन्दोलनले हिंसात्मक रूप लिएपछि सरकारले शुक्रवार राती देखी कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु सँगै देशभर सेना परिचालन गरिएको छ । कर्फ्यु आइतबार सम्मका लागि भनिए पनि थपिने सम्भावना छ ।

सरकारले कर्फ्युका बिच आइतबार र सोमवार सार्वजनिक बिदाको घोषणा गरेको छ । यसअघि  बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनका कारण मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो ।

बङ्गलादेशमा सन् १९७२ देखी स्वतन्त्रता सङ्ग्रामका ‘मुक्ति योद्धा’, जिल्ला र महिलाहरूका लागि गरिएको आरक्षणको व्यवस्थाले निरन्तरता पाउँदै आएको छ । यो आरक्षण सरकारी सेवा, अर्धसरकारी संस्थान, स्थानिय निकाय तथा विभागहरूमा लागु छ ।

आरक्षणको आधारमा संस्थानहरूको प्रथम श्रेणिको जागिरमा २० प्रतिशत मेरिटको आधारमा बाँकी ८० प्रतिशत जिल्लाहरूका लागि छुट्याईएको छ । त्यसमानै ‘मुक्ति योद्धा’का सन्तानका लागि ३० प्रतिशत, महिलाका लागि १० प्रतिशत छुट्याईएको छ ।

विद्यार्थीहरूले आरक्षणको व्यवस्था भेदभावपूर्ण भएको तथा योग्यताको आधारमा आरक्षणको नीति लागु गरिनुपर्ने माग गर्दै विरोध सुरु गरेका थिए ।

पछिल्लो पटक बुधवार आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिना वाजेदले राष्ट्रको नाममा सम्बोधन गरेपछि झन् आन्दोलन चर्किएर हिंसात्मक रूप लिएको हो ।

प्रधानमन्त्री वाजेदले सम्बोधनमा विद्यार्थीहरूको मागको बारेमा बङ्गलादेशका सर्वोच्च न्यायालयको फैसलाले न्यान दिने विश्वास भएकोले न्यायालयको फैसला आइञ्जल सम्म धैर्य राख्न आव्हान गरेकी थिइन् ।