धरान : पत्रकार पीबी दियालीको गत: जेठ २२ गते मंगलबार वीर अस्पताल काठमाडौँमा मिर्गौला प्रत्यारोपण गरेपनि स्वास्थ्यमा थप जटिल बन्दै गएको बताइएको छ ।

हाल बीर अस्पतालमा उपचाररत उनको मिर्गौला प्रत्यारोपण गरेपछि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै बसेर उपचार भइरहेको छ ।

उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मिर्गौला दिएका थिए । हाल सम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको परिवारले बताएका छन् । मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पतालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए ।

तर असार ३ गते अप्रेसनमा इन्फेक्सन भएपछि हाल सम्म वीर अस्पतालमा नै उपचारमा छन् । लामो समय सम्म मिर्गौलामा समस्या आएपछि उपचारको लागि भारत र नेपालमा उपचार गराउँदा इटहरीको घर जग्गा बेचेका थिए ।

श्रीमती र एक छोरा सहित दियाली काठमाडौँमा कोठा भाडामा लिएर उपचार गराइरहेका छन् । थप उपचारको लागि अहिले उनीसँग जायजेथा समेत केही छैन । अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको भान्जी लीला घिमिरेले बताइन् ।

उनले भनिन्, ‘मामालाई अहिले सम्म जे जति सहयोग गर्ने सवैमा धन्यवाद छ, फेरी पनि सानो सहयोगले मेरो मामाको जीवन बचाउन ठुलो सहयोग पुग्ने छ सहयोग गरी दिनु हुन अपिल गर्दछु ।’

परिवारजनले पत्रकार दियालीको जीवन रक्षाको लागि पत्रकार दियालीको माछा पुच्छ्रे बैङ्कको बैङ्क खाता नम्बर ०१५००९६८१८९०००११ मा सहयोग गर्न सक्नु हुने छ भने मोबाइल नम्बर ९८४२०७९०१९ अथवा ९८४२४०३८५६ मा कल गरेर पनि सम्पर्क गर्न सकिने छ ।