वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतराधाममा आइतबार साँझ सन्ध्याकालीन महाआरती सम्पन्न भएको छ । महाआरतीको मङ्गलवार श्रावण १ गतेबाट औपचारिक रूपमा शुभारम्भ गरिएको थियो ।

वराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा थप आकर्षित तथा धार्मिक गतिविधि बढाउने उद्देश्यले चतराधाम स्थित कौशिकी गङ्गा (सप्तकोशी किनार) मा सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो ।

वराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालीन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतबार साझको ६ बजेबाट आयोजना गरिनेछ ।

श्रावण महिना पछि थप व्यवस्थितसँगै मिति परिमार्जन गरेर सन्ध्याकालीन महाआरती कार्यलाई निरन्तरता दिइने वराहक्षेत्र नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

शनिवार सम्पन्न भएको आरती कार्यमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं. १ का अध्यक्ष किसन थापा, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई, नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, स्थानिय जनप्रतिनिधिहरू सहित धार्मिक व्यक्तित्वहरू, श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।