विराटनगर : कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जङ्गलका लागि जामुनबारी सामुदायिक वनबाट सुरु गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायिक वनमा आइपुगेको छ ।

वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । कार्कीले असार २९ गतेदेखि ‘जसको जङ्गल, उसको मङ्गलका लागि जनावरमैत्री जङ्गल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए ।

अभियान अन्तरगत कोशी प्रदेशका जङ्गल क्षेत्र भित्र जङ्गल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्व मुख्यमन्त्री कार्कीले चलाउँदै छन् । हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्र भित्र ५ हजार बढी बिरुवा वृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेसका नेता समेत रहेका कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जङ्गल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जङ्गल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जङ्गल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभियान सफल बनाउन आग्रहसमेत गरेका छन् ।

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए ।

विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जङ्गलमा जनावरका लागि आहार र जनावरमैत्री जङ्गल नभएकाले जङ्गली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले अभियान चलाएका हुन् ।

‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जङ्गली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ ।’

जङ्गलमा जनावरले खाने आहारा र जनावरको बास स्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जङ्गली जनावर वन क्षेत्रका गाउँ बस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ । त्यसैले जङ्गल क्षेत्रमा बसोबास गर्ने यश प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावर मैत्री जङ्गल हुनु अहिलेको अपरिहार्यता भएकाले वृक्षारोपण अभियान सञ्चालन गरेको पूर्व मुख्यमन्त्री कार्कीले बताए ।

बस्ती छेउमा रहेको जङ्गलका प्रत्येक रूखमा माहुरीको घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जङ्गली जनावरबाट सुरक्षित रहन र अर्थाेपार्जनका लागि सहयोगी हुने उनले बताए । माहुरी पालनले सर्वसाधारणले खेतबारी विषादी प्रयोग गर्न रोक्ने र त्यसले अर्ग्यानिक खेतीको सुरुवात हुने उनको भनाई छ ।