धरान : धरायशी प्रयोगमा रहेको विद्युत् लाइनको प्रयोग गर्दा असावधानीवश करेन्ट लागेर उदयपुर र झापामा एकै दिन ३ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ वर्षीय राजीव कुमार मगरको हिजो बुधवार घरायसी विद्युत् लाइनबाट मोटरबाट धान बालीमा पानी लगाउँदा असावधानीवश करेन्ट लागेर मृत्यु भएको छ ।

हिजै साँझ घरमा पङ्खा जोड्दै गरेका मेचीनगर-१२ का ३० वर्षीय सन्दीप तुम्बाम्फोको मृत्यु भएको छ । पाँचथर घर भई मेचीनगरमा आएका तुम्बाम्फो करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिर्तामोड स्थित बी एन्ड सी अस्पताल पुराएर उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजै राती १० बजे झापाको कचनकवल गाउँपालिका-४ केचनाका ललन साहको १५ वर्षीय छोरा विशाल साहका पनि करेन्ट लागेरै मृत्यु भएको छ ।

साह घरको बराण्डामा रहेको टिनको विद्युत् लिक भएको छानो छुँदा करेन्ट लागेर बेहोस भएको थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी पुराउँदा डाक्टरले मृत घोषित गरेका थिए ।