धरान : धरान-११ का २१ वर्षीय अर्जुन बराइलीलाई प्रहरीले घरेमा छापा मारेर हिजो बुधवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको छ ।

उनलाई धरान-१७ रेल्वे अस्थायी प्रहरी पोस्टका प्रहरी टोलीले पक्राउ गरेको हो । उनको कोठा खानतलास गर्दा प्रहरीले ट्रामाडोल २ हजार ४२० क्याप्सुल बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार हिजै दिउँसो इनरुवा-४ बाट धनकुटा-६ का ३० वर्षीय प्रितम राई, ३६ वर्षीय अमिर सुब्बा र इनरुवा-४ का ३२ वर्षीय लीलादेवी यादव ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरू चढेको बा १३ च २८५५ नम्बरको स्कार्पियो चेकजाँच गर्दा ७ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित १ लाख ५ हजार नगद रुपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरूलाई गाडी समेत नियन्त्रणमा लिएको हो ।

हिजै साँझ झापाको कमल गाउँपालिका-४ का ४१ वर्षीय धनबहादुर लिम्बुलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

धनकुटा जिल्ला प्रहरी कार्यालयको प्रहरीको टोलीले हिजै साँझ पख्रिबास-३ का २७ वर्षीय सरोज तामाङ र २३ वर्षीय पवन बस्नेतलाई ९३५ मिलिग्राम ब्राउनसुगर सहित धनकुटा-१ त्रिशूलेबाट पक्राउ गरेको छ ।