भेडोटार : पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहका बिच उद्घाटन गरेपछि ‘स्काई वाक’ सर्वसाधारणका लागि खुला गरिएको हो ।  
मुख्यमन्त्री कार्कीले भने ‘देशको आर्थिक अवस्था उल्टो गतिमा गइरहेको बेला सुल्टो गतिमा हिँडाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन गएको छ ।’
उनले निजी क्षेत्रसँग समन्वय गर्दै झापा, मोरङ, सुनसरीमा पर्यटनका सम्भावना भएका क्षेत्रमा पर्यटन सम्मेलन, चिया सम्मेलन गर्दै पर्यटन वर्ष मनाउने तयारी रहेको बताए ।
मुख्यमन्त्रीले भने ‘सार्वजनिक निजी साझेदारी मोडलको क्षेत्राधिकार फरक भए तापनि सहकार्य, सहअस्तित्व, समन्वय भएन भने विकास सम्भव हुँदैन ।’ समन्वय र साझेदारी गर्दै सहअस्तित्व गर्न कोशी प्रदेश सरकार तत्पर रहेको उनको भनाई थियो ।
उनले कोशी प्रदेश सरकारसँग धेरै परियोजनाहरू पाइप लाइनमा रहेको तर समन्वय र प्राविधिक समस्याले गर्दा परियोजना सञ्चालन नभएको बताए ।
sky-walk-Bhedetar-KapuriNewसाझेदारी कार्यक्रम
मुख्यमन्त्रीले भने जस्तै भेडेटारमा निर्मित सिसाको ‘स्काई वाक’ सार्वजनिक निजी साझेदारी मोडलमा २० करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
कोसी प्रदेश लगानी प्राधिकरणबाट स्वीकृत भई स्काई वाक भेडेटारको ऐतिहासिक पर्यटकीय स्थल शैलुङ डाँडा चार्ल्स प्वाइन्टमा रहेको टावर भएकै ठाउँमा नयाँ संरचना बनाइएको हो ।
‘स्काई वाक’ टावरको निर्माण वण्डर्स ग्रुपको वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्राक्सन प्रालीले निर्माण गरेको हो । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनेको छ । स्काई वाकमा एक पटकमा २०० जना हिँड्न सक्छन् ।
भेडेटारमा ‘स्काई वाक’ निर्माणले कोशी प्रदेशको साहसिक पर्यटनमा नयाँ कोशे ढुङ्गाको काम गर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
रोयल्टीको विवाद विद्यमान
भेडेटारमा ‘स्काई वाक’ निर्माण भई सञ्चालनमा आएपनि धरान उपमहानगरपालिका र सांगुरीगढी गाउँपालिका बिच रोयल्टीको विवाद सुल्झिएको छैन ।
रोयल्टी विवाद नसुल्झाई मुख्यमन्त्री कार्कीले परियोजनाको उद्घाटन गर्नु हतारको काम जस्तो भएको टिप्पणी पनि गरिएको छ । दुई पालिकाबिच कुन पालिकाले कति रोयल्टी प्राप्त गर्ने भन्ने विवाद विद्यमान छ ।
प्रदेश लगानी प्राधिकरणबाट विस्तृत परियोजना तयार भई सरकारी निजी साझेदारीमा निर्माण भएको कोसी प्रदेशकै पहिलो पर्यटन पूर्वाधार हो । यसकारण रोयल्टीको विवाद मिलाउने दायित्व प्रदेश सरकारको हो ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष रुम्दालीले स्काई वाक परियोजना निर्माणमा दुवै पालिकाले समन्वय गरेको दाबी गरेका छन् । धरान उपमहानगरपालिकाले रोयल्टी सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न नमानेको उनको भनाई छ ।
परियोजना बनेको ठाउँमध्ये ९९ प्रतिशत धनकुटामा पर्छ । सुनसरीको धरान उपमहानगरपालिका वडा ४ को केही भाग पर्ने उनले बताए ।
साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति पाएको कम्पनीका निर्देशक दामोदर शर्माले बताए ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ घिमिरे, वन तथा पर्यटन मन्त्री नारायण बुर्जा मगर लगायतका मन्त्रीहरू, धरानका नगर प्रमुख हर्क साम्पाङ लगायतको उपस्थिति थियो ।