वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा हाटखोलामा २१ औ संस्करणको माउण्ट एभरेस्ट च्यालेन्ज फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय हाटखोला फुटबल क्लबको आयोजना हुने प्रतियोगिता भाद्र १० देखि १७ गते सम्म आयोजना हुनेछ । आयोजक हाटखोला फुटबल क्लबले आइतबार प्रतियोगिता बारे पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो ।

क्लबको बाइस बिघे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुर जिल्लाका ८ क्लबहरू सहभागी हुनेछन् । क्लबका सचिव तथा कार्यक्रम संयोजक रोहित साहका अनुसार प्रतियोगितामा आयोजक हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब वराहक्षेत्र, चक्रघट्टि फुटबल क्लब वराहक्षेत्र, खारखोला फुटबल क्लब वराहक्षेत्र, गाईघाट फुटबल क्लब उदयपुर, एपिएफ फुटबल क्लब पकली, तालतलैया बोइज क्लब इटहरी र केराबारी फुटबल क्लब केराबारी मोरङ सहभागिता रहने छ ।

७ लाख ५० हजार कुल लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैयाँ र दोस्रो पुरस्कार ३१ हजार ३१ रुपैयाँ रहने छ । दैनिक खेलमा म्यान अफ द म्याच र प्रतियोगिता भर विधागत उत्कृष्ट खेलाडीहरूले नगद सहित ट्रफि प्राप्त गर्ने क्लबका सल्लाकार तथा पूर्व राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले जानकारी दिए ।

स्थानिय हाटखोला निवासी खेल प्रेमीहरूले स्थापना गरेको माउण्ट एभरेस्ट च्यालेन्ज फुटबललाई निरन्तरताका लागि प्रतियोगिता सुरु गरिएको आयोजक हाटखोला फुटबल क्लबका सचिव साहले बताए । खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना हुने प्रतियोगिताको नारा वराहक्षेत्र नगरको चाहना, दुर्व्यसन मुक्त समाजको स्थापना दिइएको छ ।