काठमाडौँ : ‘मिस्टर नेपाल २०२४’को फाइनल स्पर्धाका लागी ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एक हजार बढी युवाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गत असार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा आयोजना भएको थियो । जसको निर्णायकमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, रवि धमला, विक्रम आदित्य महासेठ, समर्पणजंग कार्की रहेका थिए ।

त्यस्तै उपत्यकामा दोस्रो चरणको अडिसन भएको थियो । जसको निर्णायक नीति शाह, ऋषि धमला, प्रशान्त ताम्राकार, मुनिस गिरी, सन्दीप केसी, प्रियङ्का रानी जोशी, निमेश कपाली, सरिताश्री ज्ञवाली लगायत रहेका थिए ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । ‘छनौट भएका सबै प्रतियोगी अव फाइनल प्रतिस्पर्धाका लागि विभिन्न चरणको प्रशिक्षामा जुट्नेछन्’ धमलाले भने ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।

प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगिताको विगतका विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत नेपाल भित्र्याउन सफल रहेका छन् ।