बराहक्षेत्र : सुनसरीको कर्णाली भनेर चिनिने श्रीलङ्का टप्पु अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । बिजुली बत्ती र विद्यालयको अभावमा छटपटाएका स्थानीयले अहिले ठुलो राहत पाएका छन् । श्रीलङ्का टप्पुवासीको धन्यवादका पात्र हुन् वडा अध्यक्ष उद्धव प्रसाद पोखरेल । ६२ बर्षीया जोसिला पोखरेलले नेता ज्ञानेन्द्र बहादुर कार्की मार्फत बिजुलीका पोल गाड्ने मात्र काम गरेनन् स्वास्थ्य चौकी र विद्यालयको व्यवस्थापन समेत गरे । 

टप्पुमा खानेपानीको व्यवस्थापन गराएका उनले मेयर रमेश कार्कीलाई आग्रह गरेर माध्यमिक तहसम्मको अध्ययनको बन्दोबस्त मिलाएका छन् । उनकै अग्रसरतामा चक्रघट्टी बजारको सौन्दर्यता, ग्रामीण सडक कालोपत्रे, ठाकुरबारी जानेबाटो कालोपत्रे, पुल र पक्की नाला निर्माण भएको छ  

जोस जाँगरमा अझै कमी नआएको बताउने उनी वडावासीको सेवामा लाग्न पाउनु भाग्य सम्झिन्छन् । उमेरको कारण सामान्य जिउ दुख्ने समस्या देखिए पनि मेयर उठ्ने सपना देख्छन् उनी । सरल स्वभावका उनी २०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट  वडा नं. ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए । 

नेपाली काँग्रेसको राजनीतिमा सानै उमेरदेखि सक्रिय भएका उनी ठुलो पदमा बसेर काम नगरे पनि सङ्गठनलाई बढाउन अझै लागिपर्ने बताउँछन् । बहुदल पछि भएको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउन लागि परेको उनी सम्झन्छन् । निर्वाचनको समयमा भोट माग्ने, सभा सम्मेलनमा सहभागी हुने, पोष्टर टाँस्ने काममा आफू सक्रिय भएको अनुभव निक्कै रोमाञ्चक रहेको उनको अनुभव छ । 

विद्यालय तहदेखिनै निर्वाचनमा उम्मेदवार रहने गरेका उनी ११ औँ र १२ औँ अधिवेशनबाट तत्कालीन महेन्द्रनगर ६ को सभापतिमा निर्वाचित भएका थिए । भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चयन हुँदै जनप्रतिनिधिको रूपमा क्रियाशील छन् उनी । विद्यालयमा गजेन्द्रबहादुर थापालाई हराएका उनले २०७४ को निर्वाचनमा पनि उनै थापालाई पराजित गरे । विजय र पराजय राजनीतिक भए पनि त्यसले उम्मेदवार बिच सम्बन्ध झनै सुमधुर बनाउने उनको अनुभव छ । 

राजा वीरेन्द्रकै जन्म मितिमा जन्मिएका कारण आफूलाई राजग्रह भएको ठट्टा गर्छन् उनी । जनताको माया र स्नेहले निर्वाचनको परिणाम आफ्नो हातमा पर्ने गरेको उनको भनाइ छ । वडावासीको घर-घरमै पुगेर सहयोग गर्ने र कसैप्रति वैरभाव नराख्ने उनको स्वभाव छ । सोही स्वभावले जनतालाई न्याय पुगेको उनको विश्वास छ ।