धरानः लागुऔषध ओसार पसार र दुर्व्यशनीहरुलाई धरपकड गर्न प्रहरीले कडाइ गरेपछि धरानमा त्रसित कारोबारीहरूले प्रतिबन्धित लागुऔषधी बेवारिसे अवस्थामा छाडेर भाग्न थालेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले आइतबार यसरी बेवारिसे अवस्था छाडेर भागेको ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधी बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार यसरी बरामद लागुऔषधी ट्रमाडोलको परिमाण ९ हजार १०० क्याप्सुल रहेको छ । इलामा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले उक्त लागुऔषधी धरान वडा ८ मा बरामद गरेको हो ।
यसैबिच सोही दिन इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले रंगेली-७ का २४ वर्षीय अबय शांह र सुनबर्शी-७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनीहरूलाई भारतीय बीआर३८डी ७८८९ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका हुन ।
यसैगरी भारत अररीयाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । उनलाई कानेपोखरी–२ बाट भारतीय बीआर ३८एबी ४१३५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ-९ का २७ वर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।