चतरा : नेपाली काँग्रेसको समावेशी उद्देश्य अनुसार तल्लो तहका समुदाय सम्म पुग्न जनता र समाज केन्द्रित गतिविधि बढाउनु पर्नेमा जोड दिइएको छ ।

वराहक्षेत्र ५ को वडा काँग्रेस सम्मेलनमा प्रमुख अतिथि सुनसरी १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले उक्त कुरामा जोड दिएका हुन ।

उनले मुलुक बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातिय भएकाले सबै जातजाति, भाषाभाषी, धर्मवालम्वी र संस्कृतिका जनसमुदायको भावना अनुसार पार्टीले कार्यक्रम निर्धारण गरी आपसी एकता, सद्भाव र सहिष्णुता बढाउनु पर्नेमा जोड दिए ।

सम्मेलनमा वराहक्षेत्र नगर प्रमुख पार्टी सभापति रमेश कार्की, वडा ५ का अध्यक्ष रोहित काफ्लेले काँग्रेस निर्वाचित भएपछि गरेका कामहरूको बारेमा जानकारी गराए ।

प्रदेशसभा (ख)का सभापति मुरारी भट्टराई र महासमिति सदस्य जगतबहादुर कार्कीले पार्टी भित्रको विकृति विसङ्गतिको अन्त गर्नुपर्नेमा जोड दिए ।

वडा सभापति दिलबहादुर पौडेलको सभापतित्वमा भएको सम्मेलनमा वराहक्षेत्र  उपसभापति जितबहादुर कार्की, वडा उपसभापति हर्कबहादुर थापा, नगर प्रतिनिधि प्रह्लाद थापा, महिला सङ्घ वडा ५ सभापति कमला कार्कीले पनि आफ्ना धारणा राखेकी थिइन् ।

दुर्गाबहादुर बस्नेत, धनबहादुर खत्री लगायतले विचार राखेका थिए । सञ्चालन वडा सचिव चन्द्रबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा सांगठानिक र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।