धरान : रसुवा नाका टिमुरे हुँदै चीनको केरुङ सामान लिन हिँडेको ट्रक कन्टेनर रसुवा जिल्लाको ग्राङ्ग मुलखर्कमा दुर्घटना भएको छ । दुर्घटनामा चालक सार्की शेर्पा घाइते भएका छन् ।
सोमबार बिहान ६ बजे धुन्चे नजिकै मुलखर्कको सडकबाट करिब ५ सय मिटर गहिरोमा कन्टेनर खसेको हो । बा २ ख १७९३ नम्बरको कन्टेनर काठमाण्डौंबाट चीन जाँदै गरेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनिको रुट ट्रक इकाई सचिव पुरुषोत्तम हुँमागाँइले जानकारी दिए ।
पहाडी बाटो, साँघुरो र जीर्ण सडकका कारण कन्टेनर दुर्घटनामा परेको सचिव हुँमागाँईले बताए । दुर्घटनामा परि चालक शेर्पाको टाउको, पेट र खुट्टामा गम्भीर चोट लागेको छ भने दाइने हात भाँचिएको हुमागाँइले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार रसुवाको टिमुरे नाका हुँदै चीनको केरुङसम्म मालसामान ढुवानीमा करिब ९ सय कन्टेनरहरू सञ्चालनमा रहेका छन् ।
उनका अनुसार तातोपानी नाकाको विकल्पका रूपमा हेरिएको टिमुरे नाकाबाट मालसामान ढुवानी भइरहेको भए पनि सडकको स्तरोन्नति नहुँदा र सडक विस्तार हुन नसक्दा सामान आयात कष्टकर भएको छ ।