धरान : धरानमा आज बिहीबार अगस्त १५ का दिन मित्रराष्ट्र भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइएको छ ।

भारतीय राजदूतावासको धरान स्थित पेन्शन वितरण कार्यालयमा बिहान स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो । कार्यालय प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शहिद स्मारकमा माल्यार्पण गरे ।

प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भारत र नेपालको सम्बन्ध नङ र मासु जस्तै रहेको बताए । नेपाली वीर गोर्खालीको रगत र पसिना भारतीय  स्वतन्त्रताका लागि बगेको स्मरण गर्दै उनले भारतको अस्तित्व रक्षाका लागि गोर्खाली सेनाले ठुलो सहयोग पुगेको बताए ।

प्रभारी अधिकारी मेजर कनोजियाले पेन्शन वितरण कार्यालय स्थापनाको उद्देश्य र कार्य विवरण प्रस्तुत गरे ।

पेन्शन वितरण कार्यालयबाट भारतीय भूपूहरूलाई दुर्गम पहाडी क्षेत्र र तराई भेगका विभिन्न जिल्लाहरूमा बहुदेश्यिय शिविरहरू सञ्चालन गरी सेवा पुर्याउदैँ आएको उनले बताए ।

मेजर कनोजियाले कार्यालय परिसरमा वीर नारी र पेन्शनरहरुको उन्नति र जीविकोपार्जन, स्वरोजगार सम्बन्धी कम्प्युटर, सिलाई बुनाई र ब्युटी पार्लर लगायत सिपमूलक तालिम सञ्चालन भइरहेको उल्लेख गरे ।

उक्त अवसरमा भारतीय स्वतन्त्रताको लागी वीरगति प्राप्त गरेका वीरहरूको वीरनारी श्रीमतीहरूलाई ब्लाङकेट, वीरता पदक धारकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भूतपुर्व सैनिकहरू तथा तिनका आश्रित परिवारहरुलाई हिडंडुल गर्न सहायक सामग्रीहरू वितरण गरिएका थिए ।

दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरू र भोकेशनल ट्रेनिङका नानीहरूले प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति गरेका विद्यार्थी तथा खेलकुदका विजेता, उपविजेताहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

august-15-dharan