इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कर्मचारी थप गर्ने भएको छ । इन्फास्ट्रक्चर एम्बुलेन्स देखी नगरबस सञ्चालनको लागि उपमहानगरपालिकाले कर्मचारी भर्ना गर्ने भएको हो ।

विद्यालयमा नर्सको व्यवस्थापन गर्न लागेको उपमहानगरले सामुदायिक स्वास्थ्य अन्तरगत घरदैलोमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको छ । सामुदायिक विद्यालयका बालबालिकाको नियमित स्वास्थ्य परीक्षण र जनस्वास्थ्यमा जोड दिँदै ३८ जना नर्स र १ जना स्वास्थ्य अधिकृतको दरबन्दी खुल्ला गरिएको जनाइएको छ ।

साउन २८ गते खुलेको आवेदनमा मासिक ज्यालादारीको लागि मोटर ग्रेडर अपरेटर, रोड रोलर अपरेटर, मिनी ट्रक चालक एक/एक जना गरी ३ जना र सह-चालक ५ जनाको माग गरिएको छ । आठै जनालाई इन्फास्ट्रक्चर एम्बुलेन्सको लागि परिचालन गर्न लागिएको हो । 

साउन ३० को अर्को सूचनामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम र विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमको लागि ३८ जना नर्सको आह्वान भएको छ । सामुदायिक स्वास्थ्य अधिकृत १ जना, सामुदायिक नर्स २० जना र विद्यालय नर्स १८ जना माग भएको हो । २०८२ असार मसान्त सम्म करारमा रहने गरी ४५ वर्ष ननाघेका उम्मेदवारले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । 

साउन ३२ गतेको तेस्रो सूचनामा मासिक ज्यालादारीको लागि ६ जना भारी सवारी चालक र ५ जना सह-चालकको आवेदन खुल्ला गरिएको छ । विद्युतीय गाडीमा ४ जना सहित रोड वासर ट्याङ्कर १, अग्नि नियन्त्रक चालक १ र सहचालक ५ जनालाई ज्यालादारीमा भर्ना गर्न लागिएको हो ।