धरान : नेपाली काँग्रेसले यसपालि धरानका ११ वटा वडाका पुगेर घरघरमा ७ हजार बोटबिरुवा बाँडेर यसपालिको ग्रीन एण्ड क्लीन धरान अभियान समापन गरेको छ । अघिल्लो वर्ष अभियानले धरानको २० वटै वडामा बोट, बिरुवा बाँडेको थियो ।

धरानलाई हरियाली शहर बनाउन घरघरमा वृक्षारोपणलाई प्रोत्साहित गर्न नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले यो अभियान चलाएको हो । ४२औँ वीपी स्मृति दिवसमा धरान १९ वाट सुरु भएको अभियान धरान १ मा शनिवार समापन गरिएको हो ।

समापनमा प्रमुख अतिथि काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले अभियान 'घरघर जाऊँ काँग्रेस जिताऊँ' अभियानको समुदायमुखी कार्यक्रम भएको बताए ।

उनले खानेपानी महसुल वृद्धि नगर्ने सहमति कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराउँदै राजनीतिक दलहरू बिच सहमति, सहकार्य र एकता जारी रहनु पर्ने कुरामा जोड दिए ।

गत वर्ष देखी सुरु गरिएको ग्रीन एण्ड क्लीन धरान अभियानलाई यसपालि पनि निरन्तरता दिइएको हो । यसपालि अभियानले कागती, अम्बक, सरिफा, बेल, अमला, तेजपत्ता, एभोगार्डो, धुपी, पारिजात, कफी लगायतका ७ हजार बढी बिरुवाहरू वितरण गरेको छ ।

काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले अभियान लोकप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल बस्तीहरूमा पुग्ने लक्ष्यका साथ पुनः सञ्चालन गरिएको बताए ।

अभियानको क्रममा जनतासँग साक्षात्कार गर्दै पार्टी र जनता बिचको सम्बन्ध सुदृढ बनाउन घरघरमा हरियाली प्रवर्द्धन, सरसफाइ र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको उनको भनाई छ ।

समापनमा प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललिता अधिकारी लगायत पार्टी र भातृ, शुभेच्छुक सङ्घका नेता कार्यकर्ता र वडावासीहरूको सहभागिता रहेको थियो ।

अभियानकै क्रममा सडक सरसफाइ र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धी सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु बिरामीहरूलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ । गत वर्ष धरानका सबै वडाहरूमा गरिएको अभियान यस वर्ष वडा नं. १, ६, ८, १०, ११, १४, १५, १६, १८ र १९ गरी १० वटा वडामा गरिएको हो ।