धनकुटा : जिल्लाका जनता समाजवादी पार्टीका कार्याकर्ताहरुको एक समूह जसपा नेता धर्म राई, पूर्व धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राईको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष बलबहादुर राईले जसपालाई खहरे खोलाको संज्ञा दिदैं ‘खहरेमा बसेर समय बर्बाद गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेर मूलधारको पार्टीमा’ प्रवेश गरेको बताए ।

एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालको उपस्थितिमा भएको एक कार्यक्रममा मंगलबार जसपाका   केन्द्रीय निर्वाचन समितिका सदस्य धर्म राईसहित कार्यकर्ताहरूको समूह एमालेमा प्रवेश गरेका हुन ।

जसपा सहित काँग्रेस, माओवादी, नेकपा एस लगायतबाट एमाले प्रवेश गर्नेहरू ५०० जना भएको बताइएको छ ।

एमाले प्रवेश गर्नेहरूमा जसपा कोशी प्रदेश कमिटी उपाध्यक्ष दीपेश राई, पूर्व धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, साँगुरीगढी गाँउपालीका कमिटी अध्यक्ष लीलाराज लावती समेत छन् ।

काँग्रेसबाट साँगुरीगढी उपसभापति प्रकाश राई, नेकपा एसका नेता प्रा.डा.गोपालबहादुर भट्टराई, एसका साँगुरीगढी वडा ३ अध्यक्ष प्रवेश लिंखा समेत छन् ।

एमाले धनकुटाका प्रचार विभाग प्रमुख रबिन कट्टेलले भने ‘विभिन्न पार्टीबाट करिब ५ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।’

उनीहरूलाई उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य, कोशी इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य  धनकुटा इन्चार्ज राजेन्द्र राई, केन्द्रीय सदस्य शकुन्तला बस्नेत र बिनादेवी राई, गोपाल गुरागाईँ, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङलाले स्वागत गरेका थिए।