धरान : समाजसेवी स्वार्गिय राजेन्द्रप्रसाद आचार्यप्रति धरान-१२ महेन्द्र पथ स्थित बलभद्रेश्वर अरुणा धर्मशालामा आज बिहीबार बिहान भएको शोक सभाले शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

स्वर्गीय आचार्य अरुणा धर्मशालाका पूर्व अध्यक्ष तथा हाल वरिष्ठ सल्लाहकार थिए । शोक प्रस्तावमा उनको निधनले धरानले समाजसेवा र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका एक असल व्यक्तित्व गुमाएको उल्लेख छ ।

पब्लिक हाई स्कुल धरान-१२ मा लामो समय शिक्षण गरेको आचार्यले स्कुलको प्रधानाध्यापक भएर अवकाश ग्रहण गरेका थिए । आचार्यले विराटनगर स्थित नेपाल-भारत कोसी प्रोजेक्टको भूआर्जन अधिकारीका रूपमा पनि सेवा गरेका थिए ।

उनको ९४ वर्षको उमेरमा गत भदौ २ गते धरान-१२ चतरा लाइन स्थित आफ्नै निवासमा दुःखद निधन भएको थियो ।

अरुणा धर्मशाला कार्यसमितिले पूर्व अध्यक्षको निधनमा शोकसभा गरी शोक सन्तप्त परिवारसँग भेट गरी समवेदनापत्र पनि हस्तान्तरण गरेको छ ।

सञ्चालन समिति अध्यक्ष टोमप्रसाद आचार्य, उपाध्यक्ष श्याम गोविन्द श्रेष्ठ, महासचिव प्रा.डा.गोपाल भण्डारी, सल्लाकार धरानकी पूर्व उपप्रमुख मञ्जु भण्डारी, डा.राजेन्द्र शर्मा सहित कार्यसमिति सदस्यहरू पुनित अवसरमा सहभागी थिए ।

दिवङ्गत आचार्यका शोक सन्तप्त परिवारमा छोराहरू सुरेश आचार्य, नरेश आचार्य, दिनेश आचार्य र बुहारी नाति, नातीना तथा छोरी रमला खरेल छन् ।

sok-sabha-dharan