धरान : धरान-१३ का ३६ वर्षीय लक्ष्मी मोतेले आफ्नो श्रीमती २६ वर्षिया शोभा परियारलाई निर्घात कुटपिट गरेका कारण मृत्यु भएको छ ।

घटना आज शुक्रवार बिहान ५ बजेको समयमा भएको हो । धरान-१३ सुर्यमार्गमा बस्ने श्रीमान् मोतेको निर्घात कुटपिटबाट शोभाको मृत्यु भएको माइती पक्षले बताएको हो ।

बिहान मोतेले मेरो श्रीमतीको मृत्यु भयो भन्दै छिमेकीलाई भनेका थिए । मरणासन्न हुने गरी बिहीबार राती कुटपिट गर्दा बेहोस भएकी शोभाको बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।

श्रीमान् मोते आफैले छरछिमेकलाई बताएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको स्थानीय लक्ष्मी राईले बताइन् ।

प्रहरीले कुटपिट गरी मृत्यु भएकी शोभाका श्रीमान् लक्ष्मी मोते र सासुआमा ६० वर्षिया रत्नमाया मोतेलाई अनुसन्धानका लागि पक्राउ गरेको छ । उनीहरू दुवै इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् ।

मृतक शोभाको शव परीक्षणका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतकको शरीरमा नीलडाम र नाकबाट रगत आएकाले कुटपिटको आशङ्का गरिएको छ । तर पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यथार्थ जानकारी गराइने प्रहरीले जनाएको छ ।