धरान : धरानमा पहिलो पटक सुनसरीका महिला उद्यमीहरूका उद्यम, उत्पादन र व्यवसायको प्रदर्शनी र व्यापार मेला आयोजना हुँदैछ ।

व्यापार मेला र प्रदर्शनी सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको हो । सङ्घको भवन परिसर, सभाहल समेतमा लाग्ने मेलामा ४५ वटा स्टलहरू रहने छन् । मेला भदौ १३ देखि १५ गते ३ दिन सम्म चल्नेछ ।

मेलाबारे जानकारी दिन सङ्घ द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले व्यापार व्यवसायको क्षेत्रमा मन्दी छाएको बेला चाडबाडलाई लक्ष्यीत गरेर महिलाहरूको उद्यमलाई प्रोत्साहित गर्न प्रदर्शनी तथा व्यापार मेला आयोजना गरिएको बताए ।

उनले भने ‘महिला उद्यमी प्रदर्शनी तथा व्यापार मेलाले धरानको बजारमा चहल पहल ल्याउने हामीले विश्वास गरेका छौँ ।’ सुनसरी उद्योग वाणिज्य सङ्घको स्थापना भएको ६१औ वार्षिकोत्सव मनाउन पनि प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

प्रदर्शनीमा सुनसरी जिल्लाका महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुहरूको व्यापार प्रवर्द्धन, प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आर्थिक मन्दीका कारण उद्यम अघि बढाउन नसकेका महिला उद्यमी हरूलाई बैङ्किङ ऋण उपलब्ध गराउन बैङ्कहरू सँग सहकार्य गर्न पनि प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य राखिएको सङ्घले जनाएको छ ।

प्रदर्शनीका स्टलहरूमा दैनिक उपभोग्य वस्तु तथा समाग्रीहरुका घरेलु उत्पादन, गरगहना, सौन्दर्य केयर शृङ्गार, कृषिजन्य वस्तु, खाद्यान्न तथा अन्य विभिन्न प्रकारका रहने मेला संयोजक वर्षा अग्रवाल श्रेष्ठले बताइन् ।

उनले  प्रदर्शनीमा  विभिन्न प्रकारका खाजाका परिकारहरू र विजयपुर हस्पिटलको सहयोगमा स्वास्थ्य सम्बन्धी सेवा तथा आँखा शिविर समेत सञ्चालन हुने संयोजक श्रेष्ठले जानकारी दिइन । मेलाले सुनसरीका महिला उद्यम तथा वाणिज्य क्षेत्रलाई प्रोत्साहित पार्दै देशको आर्थिक गतिविधिमा योगदान पुर्याउने उनको भनाई थियो ।

प्रदर्शनी करिब १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । करिब १५ लाखको कारोबार कारोबार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीका लागि धरान उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय,  हिमालय बैङ्क, एक्सल डेभलभमेन्ट बैङ्क, जोल्ली आइसक्रीम, ब्रान्डेड कस्मेटिक होलसेल पसल, विजयपुर हस्पिटल प्रालीले सहयोग गरेको छ ।

पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, वरिष्ठ पत्रकार हर्ष सुब्बाले महिला उद्यमी केन्द्रित प्रदर्शनी तथा व्यापार मेलाको सफलताको शुभकामना व्यक्त गरे ।